Tuesday, April 26, 2011

खेलाडीलाई पुरस्कार कर काटेर दिइयो रे ..

१६औं एसियाली खेलकुदमा एकमात्र पदक जित्ने बक्सिङ खेलाडी दीपक महर्जनलाई सरकारले घोषणा गरेको नगद पुरस्कार कर काटेर आइतबार दिइएको छ।


पदकविहीन भएर घर फर्कने अवस्थामा पुगेको नेपाली जम्बो टोलीलाई चीनमा दीपकले कांस्य पदक जितेर राहत दिलाएका थिए। सरकारले उनलाई नगद पुरस्कारस्वरुप ३ लाख रुपियाँ दिने घोषणा गरे पनि आइतबार २५ प्रतिशत कर काटेर २ लाख २५ हजारमात्र दिइएको थियो। सरकारले घोषणा गरेको उक्त रकम राष्ट्रपति रामवरण यादवले दीपकलाई हस्तान्तरण गरे।

काठमाडौंमै १२ वर्षअघि सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ) का विजेतालाई सरकारद्वारा घोषित नगद पुरस्कार कर कटाएर दिइए पनि खेलाडीको विरोधपछि नवांै साफदेखि आधिकारिक खेलमा घोषित पुरस्कारमा कर नकाट्ने सहमति भएको थियो। त्यहीअनुरुप नवौं सागदेखि गतवर्ष बंगलादेशमा सम्पन्न ११औं सागसम्म विजेतालाई घोषित रकममा कर नकाटी पुरस्कृत गरिएको थियो।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीलाई दिने घोषणा गरिएको पुरस्कारमा कटौती भएकोमा विरोध जनाएको छ। संघका महासचिव दीपक श्रेष्ठले भने, 'पदक जित्दाचाहिँ देशलाई खाली हात नगरेको भनेर ठू-ठूला भाषण गर्ने, अहिले चाहिँ एउटा खेलाडीको हकबाट ७५ हजार रुपियाँ काट्ने? सबै राजनीतिक दलका नेतादेखि राखेप र खेलकुद मन्त्रालयका पदाधिकारीले दीपकको सम्मानमा कुनै कसर बाँकी नराख्ने वाचा गरेका थिए। अहिले व्यवहारमा यस्तो निन्दनीय काम गर्दा खेलाडीको मनोबल आगामी दिनमा समेत नराम्ररी बिग्रन्छ।'

खेलाडीको सम्मानका लागि लबिङ गर्न नसकेकोमा उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पदाधिकारीको कडा बआलोचना गरे। 'खेलाडीलाई दिने भनिएको पुरस्कार नदिँदा राखेप पदाधिकारी के हेरेर बसिरहेका छन्,' उनको प्रश्न थियो। संघले आइतबारै एक विज्ञप्ति जारी गरी कटौती गरिएको रकम दीपकलाई तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ।

No comments:

Post a Comment

^ Scroll to Top