Friday, August 12, 2011

कस्ता डॉक्टर ??????? घाँटीकी बिरामीको पाठेघर झिकियो


बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक महिलाको घाँटीको 'थाइराइड' क्यान्सरको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले पाठेघर नै झिकेर फयाँकिदिएका छन् ।

नाक, कान र घाँटी (ईएनटी) रोगअन्तर्गत शल्यक्रियाका लागि भर्ना भएकी बिरामीको चिकित्सक जितेन्द्र परियारले चरम लापरबाहीपूर्वक बिहीबार बिहान पाठेघर झिकिदिएका हुन् ।

रूपन्देही शंकरनगर-३ की छमकुमारी बोहराको स्त्रीरोग विशेषज्ञ परियार लगायतको टोलीले गलत शल्यक्रिया गरेको अस्पतालले पुष्टि गरेको छ । नाक, कान, घाँटी रोग विशेषज्ञ अनीलविक्रम कार्कीले बिहीबार बिहान मेसिन बिग्रेको जनाउँदै बिरामीका आफन्तलाई शल्यक्रिया सरेको जानकारी गराएका थिए ।

उनले आउँदो आइतबार बिरामीलाई अस्पताल ल्याएर भर्ना गरेपछि मंगलबार शल्यक्रिया गर्ने भन्दै घर जान भनेका थिए । 'बिरामीलाई घर लाने तयारी गरेर आयौं,' बिरामीका काका पूर्णबहादुर खत्रीले भने, 'एक्कासि अप्रेसन सकेर निकालेको देखेपछि झस्क्यौं ।'

उनले घाँटीको भाग खुला देखेपछि बिरामीको पेट हेर्दा चिरिएको बताए । गलत शल्यक्रिया भएको भन्दै आपत्ति जनाएपछि चिकित्सकले 'गल्ती भएकाले 'थाइराइड को पनि उपचार गरिदिने' आश्वासन दिएर थामथुम पार्न खोजेका थिए ।

नन्द धनकुमारी खत्रीका अनुसार छमकुमारीको २ महिनाअघि एउटा थाइराइडको शल्यक्रिया भएको थियो । 'अर्को थाइराइड फ्याँक्नुपर्ने भनेकाले ल्यायौं,' चरम लापरबाही भएकोमा आक्रोश पोख्दै उनले भनिन्, 'एकतिर घर लैजाऊ भन्ने, अर्कोतर्फ जानकारीसम्म नदिई शल्यक्रिया गर्न लगेर पाठेघर फालिदिन मिल्छ ?'

'मेजर अप्रेसन' गर्नुपर्ने भन्दै चिकित्सकले बोलाएकाले आफन्त बिरामी लिएर बुधबार आएका थिए । उनको बिहान ८ बजे देखि १२ बजेसम्म शल्यक्रिया चलेको थियो । अपराह्न लापरबाहीको अनुसन्धान गर्न अस्पताल प्रशासनले निमित्त कार्यकारी निर्देशक डा. भोलाप्रसाद रौनियारको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिमा विभिन्न विभागीय प्रमुख र वरिष्ठ चिकित्सक छन् ।

पत्रकार भेटमा समितिका प्रवक्ता एवं ईएनटी विभाग प्रमुख डा. डेज गौतमले घाँटीको 'थाइराइड क्यान्सरको शल्यक्रिया हुनपर्नेमा चिकित्सकले लापरबाही गर्दा पाठेघरको शल्यक्रिया हुन पुगेको स्विकारे । अस्पतालका अनुसार अर्की बिरामी केशमाया गुरुङको पाठेघरको शल्यक्रिया गर्नुपर्ने थियो । उनको ठाउँमा 'भुलवश' छमकुमारीको शल्यक्रिया गरिएको हो । 'गाइनोको टिमले शल्यक्रिया गरेको हो,' उनले भने, 'गल्तीले यस्तो भयो ।'

गौतमका अनुसार बिरामीलाई 'अप्रेसन थिएटर'मा लग्नुअघि नर्सलाई जिम्मा लगाइन्छ । रोगअनुसार शल्यक्रिया कक्षमा लगिन्छ । 'कमन रुममा' लगेर बिरामीसँग समस्याबारे सोधिन्छ । शल्यक्रियाअघि बिरामीका आफन्तले सहमति जनाउनुपर्ने हुन्छ ।

'अस्पतालको गल्ती हो,' स्त्री रोग विभाग प्रमुख विनिमा श्रेष्ठले भनिन्, 'युनिटको गल्ती होइन ।' सामूहिक समस्या भएकाले समितिले छानबिन गर्ने बताइन् । निमित्त निर्देशक रौनियारले शल्यक्रियाअघि विभिन्न चरणमा 'चेकिङ' हुने बताए । चिकित्सकको गल्ती भएकोमा लुकाउनुपर्ने केही नभएको उनले बताए । बिरामीको अवस्था स्थिर रहेको बताउँदै उनले भने, 'बाँकी उपचार गर्छौं ।' ३२ वर्षीया छमकुमारीका श्रीमान्को निधन भइसकेको छ । उनकी १४ वर्षीया छोरी छिन् ।

No comments:

Post a Comment

^ Scroll to Top