Wednesday, August 10, 2011

करोडपति डनहरूको भागाभाग

काठमाडौं, साउन २५ । टोले गुण्डा तथा डान्सबारका बाउन्सरबाट आपराधिक गिरोह चलाएर रातारात करोडपति बनेका राजधानीका गुण्डागर्दीका नाइके अथवा 'डन' हरूको पछिल्लो समयमा निदहराम भएको छ।

महानगरीय प्रहरीले उनीहरू विरुद्ध अप्रेसन सुरु गरेपछि उनीहरूको भागाभाग सुरु भएको छ। खास गरी डनहरूको सम्पतिको खोजी सुरु भएपछि डनहरू आतंकित बनेका छन्। गत शुक्रबारबाट सुरु भएको सम्पति शुद्धीकरण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) र महानगरीय प्रहरी मिलेर गुण्डाहरूको सम्पति छानबिन सुरु गरेका हुन्। हालसम्म विभागले राजस्व अनुसन्धान विभागअन्तर्गत रहँदा गणेश लामाको प्रारम्भिक छानबिन गरी उनको फाइल तयार गरेको छ। आइतबारबाट उनको फाइल पल्टाउन सुरु गरिएको विभाग स्रोतले बताउँछ। सिआइबीले विभागलाई दिएका अन्य एक दर्जन व्यक्तिको पनि अनुसन्धान सुरु भएको छ।

विभागका महानिर्देशक खुमराज पुञ्जालीले पनि प्रहरीसँग सहकार्य गरेर आपराधिक गतिविधिमा लागेर करोर्डौं कमाएकाहरूको सम्पति छानबिन सुरु गरिएको बताए। त्यसका लागि प्रहरीसँग नियमित रूपमा सहकार्य हुने उनको भनाइ छ। महानगरीय प्रहरी आयुक्त कुवेरसिंह राना पनि प्रहरी अब डनहरूको सम्पति छानबिनतर्फ लागेको बताउँछन्। 'उनीहरूलाई पक्राउ गरेर थुन्दैमा मात्र गतिविधि नियन्त्रण गर्न सकिदैन,' आयुक्त कुवेरसिंह राना भन्छन्, 'त्यसकारण सम्पतिमाथि पनि हामीले अनुसन्धान सुरु गरेका छौं।'

सबै जसोले अवैध गतिविधिबाट करोडौं कमाएकाले उक्त सम्पतिको स्रोत खुल्ने देखिँदैन। त्यसकारण पनि उनीहरू आतंकित भएका हुन्। उनीहरूले धमाधम सम्पति लुकाउन थालेका छन्। उनीहरू भने आफूहरूले व्यापार गरेर सम्पति कमाएको बताउँछन्।


सम्पति छानबिनमा सुरुमा प्रहरीले ठूला अर्थात् पछिल्लो समयमा क वर्गमा राखिएका १५ जना डनहरूमाथि छानविन सुरु गरेको छ। जसमा दीपक मनाङे, राजु गोर्खाली, चक्रे मिलन, गणेश लामा, बागे नामले चिनिने बागबहादुर लामा, रोज राणा, चन्द्रबहादुर लामा, साजन महर्जन, चरी भनिने दिनेश अधिकारी, रमेश बाउन भनिने सुजन पौडेल, बाबु भनिने विश्वक्रान्ति सिंह र तेजेन्द्र गुरुङ लगायत छन्।

महानगरीय प्रहरी र सिआइबीले संयुक्त रूपमा गुन्डागर्दीविरुद्ध हालै थालेको अपरेसनमा आपराधिक गतिविधिमा लागेका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरणलाई पनि प्राथमिकतामा राखिएको थियो। संगठित रूपमा आपराधिक धन्दामा लागेकाहरूको अवैध सम्पति नियन्त्रण नगरी उनीहरूको अवैध क्रियाकलाप नियन्त्रण गर्न नसकिने निष्कर्ष निकाल्दै प्रहरीले डनहरूको सम्पति अनुसन्धानलाई पनि प्राथमिकता दिएको हो पैसाका लागि आपराधिक गतिविधि हुने र यसकै बलमा डनहरूको आपराधिक धन्दा फस्टाएकाले उनीहरूको अकूत सम्पतिमाथि अनुसन्धान नगरी संगठित अपराध नियन्त्रण गर्न नसकिने सिआइबीका निर्देशक डिआइजी राजेन्द्रसिंह भण्डारीको विचार छ। उनी भन्छन्, 'पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएर केही दिन थुन्दैमा गुण्डा तह लाग्दैनन्।'


डनहरूमध्ये गणेश लामा सबैभन्दा धनी भएको प्रहरी अधिकारीहरू बताउँछन्। उनले गुन्डागर्दी र ठेक्कापट्टाबाट मात्र करिब एक अर्ब सम्पत्ति जोडेका छन्। एकताका होटलमा बाउन्सर रहेका लामा पछि दीपक मनाङेको समूहमा लागे। मनाङ जेल परेपछि उनले छुट्टै गिरोह चलाएका थिए। पछिल्ला केही वर्ष रक्तचन्दन तस्करीबाट उनले अकूत सम्पत्ति कमाएका हुन्। गत वर्षदेखि नै उनको सम्पत्तिमाथि अनुसन्धान सुरु गरिएको थियो। व्यापारी पवन गुप्तालाई २५ लाख ठगेको आरोपमा ६ साउनमा पक्राउ परेका उनी पैसा तिरेपछि १६ साउनमा पाँच हजार धरौटीमा रिहा भएका थिए।

अन्य डनहरूका सम्बन्धमा भने हालैमात्र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। राजनीतिक संरक्षणमा रहेका उनीहरू सबैले ठेक्कापट्टा र तस्करीबाट मोटो रकम जम्मा गरेका छन्। कतिपय डनले भने हप्ता असुली, बालुवा तस्करी, अर्धनग्न नृत्य प्रदर्शन गरिने डान्सबारको सञ्चालनबाट अकूत सम्पत्ति कमाएका छन्।

गत वर्षसम्म डनहरूको कमाइको मुख्य स्रोत हाउजिङ र रियलस्टेट व्यवसाय थियो। तर घरजग्गा व्यवसाय खस्किएपछि उनीको कमाइ पनि सुकेको हो। व्यवसायीलाई थर्काएरसमेत उनीहरूले सित्तैमा सेयर लिने गरेका थिए। गत फागुन ९ गते गोंगुबस्थित ह्याबिटेन्स हाउजिङसँग २ करोड सेयर मागेकामा नदिएपछि केन्द्रीय जेलमा रहेका चक्रेले चालक यादव सिलवालसहित हाउजिङको डोजरमा आगजनी गराएका थिए। हाल उनी गोलघरमा छन्। कतिपयले भने आफैले घरजग्गामा लगानी गरेका थिए।


भक्तपुरका साजन महर्जनले पनि रक्तचन्दनको कारोबारबाट लाखौं कमाएका थिए। भक्तपुरका नाइके महर्जनले सिन्धुपाल्चोकका व्यापारीलाई धम्क्याएर पैसा असुलेका थिए। भक्तपुर क्षेत्रमा उनका रेष्टुरेन्टसमेत छन्। काभ्रेका चन्द्र लामा पनि गुण्डागर्दीबाट सरकारी ठेक्का हात पारी लाखौं कमाउन सफल भएका हुन्। उपत्यका सबै डान्सबार तिनै गुण्डाहरूको लगानी र नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

कुमार घैंटेले सामाखुसीमा व्यापारिक कम्प्लेक्स चलाउदै आएका थिए। नुवाकोटका कांग्रेस नेताहरू अर्जुननरसिरंह केसी, जगदीश्वरनरसिहं केसी लगायत नेताले उनलाई संरक्षण दिदै आएका छन्। घैंटे ठेक्कापट्टामा पनि संलग्न छन्। सामाखुसी क्षेत्रका होटल रेष्टुरेन्टमा उनको दबदबा छ। बिदेश गएका उनी हालसालै काठमाडौं फर्किएका छन्।
पहिले कांग्रस रहेका र पछिल्लो समयमा वाईसीएल बनेका स्वयम्भू क्षेत्रमा सक्रिय बागे पनि क वर्गका ठेकदार हुन्।

रामेछापका रमेश बाउन उपत्यका बाहिरै बसेर व्यापारीलाई थर्काएर पैसा कमाउँदै आएका छन्। त्यसो त घैंटे मात्र होइनन्, सबै डनहरू उच्च राजनीतिक संरक्षणमा चल्दै आएका छन्। उनीहरूले अकूत रूपमा कमाएको करोडौं रकमले राजनीतिक प्रभाव बढाएको प्रहरीको भनाइ छ। 'उनीहरुले पार्टीलाई आर्थिक सहयोग र पार्टीले उनीहरूलाई राजनीतिक सहयोग गर्दछ,' एक उच्च प्रहरी अधिकारी बताउँछन्।

त्यसैले डनहरू पनि खुलेरै राजनीतिमा लाग्न थालेका छन्। गणेश लामा उपेन्द्र यादव नेतृत्व गर्ने फोरमको केन्द्रीय सदस्य छन्। दीपक मनाङे एक क्षेत्रीय पार्टीमा लागेका छन् भने राजु गोर्खाली पहिलेदेखि नै कांग्रेसको छत्रछायामा छन्।
प्रहरीले उनीहरूको सक्रियता र सम्पतिको आधारमा राजधानीका डनहरूलाई ए, बी, सी र डी गरी चार वर्गमा विभाजन गरी अपरेसन चलाइरहेको छ। अपरेसनमा पक्राउ करिब एक हजार पक्राउ परेकामा त्यसमध्ये १२ जना त फरार अभियुक्त परेको आयुक्त रानाले बताए । बागे र काभ्रेका दावा लामालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेर गत बिहीबार छोडिदिएको छ। बी र सी वर्गका डनमाथि पनि प्रहरीले निगरानी बढाएको छ। यसरी प्रहरीले गुण्डागर्दीविरुद्ध कडा कदम चालेपछि उनीहरूको भागाभाग भएको हो। अप्रेसनपछि उपत्यकाको शान्ति सुरक्षामा पनि सुधार भएको प्रहरीले महसुस गरेको छ। तर, डनहरु पनि नयाँ चलखेलमा लागेको बताइन्छ।

weeklynepal.com

No comments:

Post a Comment

^ Scroll to Top