Monday, July 4, 2011

आमिर खानको 'देल्ली बेल्ली' काठमाडौंमा प्रतिबन्धित

सन्तोष रिमाल काठमाडौं, असार १९- जिल्ला प्रशासन कार्यलय काठमाडौंले आमिर खानद्वारा निर्मित हिन्दी फिल्म 'देल्ली बेल्ली'को प्रदर्शनमा रोक लगाएको छ। नेपालमा वितरणको समेत जिम्मेवारी पाएको गोपिकृष्ण मुभिजमा आइतबार साँझ छापामारी प्रहरीले फिल्मको प्रिन्ट नियन्त्रणमा लिएको हो।

सेन्सर बोर्डले केही अश्लिल संवाद हटाएर मात्र प्रदर्शन गर्ने अनुमति दिएको सो वितरक कम्पनीले त्यसै प्रदर्शन गरेको पाइएपछि सेन्सरबोर्डले गृहमन्त्रालयलाई जानकारी गराएको थियो। गृहको जानकारी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुग्नासाथ आइतबार साँझ सीडीओले फिल्मको प्रिन्ट बरामद गरी प्रदर्शनमा रोक लगाउन निर्देशन दिएका हुन्।

'वितरक र प्रदर्शकले नटेरेको जानकारी बेलुकी पाँचबजे पाएँ', काठमाडौंका सीडीओ लक्ष्मीप्रसाद ढकालले नागरिकन्युजसँग भने- 'तुरुन्त रोक्ने आदेश दिएको छु। भोलिदेखि काठमाडौंका हलहरुमा यो फिल्म चल्दैन।'

सेन्सर बोर्डको आदेश अवज्ञा गरेबापत हिन्दी फिल्म प्रतिबन्ध लगाइएको हो। यसअघि फिल्ममा रहेका केही अश्लिल सम्वाद हटाउन सेन्सरले वितरक तथा प्रदर्शक गोपीकृष्ण मुभिजलाई आदेश दिएको थियो।

सेन्सर बोर्डको आदेश अवज्ञा गरे वापत कस्तो कारवाही गर्ने भन्ने टुंगो लागिसकेको छैन।

'कस्तो कारवाही गर्ने भन्ने चाहिँ अनुसन्धानपछि मात्र टुंगो लगाउँछौं', घिमिरेले भने।

आइतबारसम्म पनि हटाउन भनिएको संवाद कायम रहेको पाइएकाले कारवाहीको लागि गृह मन्त्रालयमा उजुरी गरिएको थियो। देल्ली- बेल्ली भारतसँगै शुक्रबार नेपालमा पनि रिलिज भएको थियो। 'फिल्ममा रहेको पाँचवटा भन्दा बढी अस्लील संवाद हटाउने शर्तमा फिल्मलाई एडल्ट सर्टिफिकेट दिइएको थियो', सेन्सर बोर्ड सदस्य चेतन सापकोटाले नागरिकन्युजसँग भने- 'काठमाडौं र बाहिरका शहरमा जस्ताको तस्तै देखाएको पाइयो त्यसपछि प्रशासनलाई खबर गरेका हौं।'


सीडीओको आदेशपछि वितरक तथा प्रदर्शक गोपीकृष्ण मुभिजमा साँझ ६ बजे प्रहरी पुगेर छापा मारेको थियो। छापामारी सिनेमाको मुख्य प्रिन्ट प्रहरीले नियन्त्रणमा लिएको हो। देल्ली-बेल्ली काठमाडौं र पोखरा प्रदर्शन भइरहेको थियो।

सेन्सरको आदेश नमानेको ठहर भए प्रदर्शक तथा वितरकलाई १० हजार जरिवाना र एक वर्ष कैद अथवा दुवै सजाय हुनसक्छ।

Nagariknews.com

No comments:

Post a Comment

^ Scroll to Top