Friday, July 22, 2011

हिमालले छोरा फर्काए, कामरेडका छोरा छोरी गाउँ गए हुन्न ?


अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले ठूलो साहस गरे। बाउ आमाको सम्पत्ती नबेची, राज्यको सम्पत्तीमा नंग्रा नगाडी, जनताका छोराछोरीको चन्दा नमुर्क्याइ आफ्ना क्षमताले बिदेशमा पढ्न गएको छोरो फरक्क स्वदेश फर्काए । यद्दपी बाउको राजनीतिको शिकार बनेका छन् उनी । तर म त भन्छु, उनी एक्ला होइनन् शिकार बन्ने। अध्यक्ष कामरेड लगायतका बडे बडे कामरेडका शिकार धेरै गरिबका छोरा छोरी भएका छन् । त्यो शिकार जनताले कामरेडहरुलाई विश्वास गर्नाले भएको छ । कामरेडहरुले हिजो जनयुद्दका दिएका बेला बचन बाचालाई कुल्चिदिनाले भएको छ ।

कामरेडहरुले हिजो शहरमा भन्दा गाउँमा बिताए । तिनको विश्वास शहरियासित थिएन । तिनको नीति थियो, गाउँले शहर घेर्ने । त्यसैले जनयुद्द गर्ने निधो गर्नासाथ ति रोल्पा पसे । रुकुम हानिए । जाजरकोट कुदे । हातमा कलम बोलेकालाई भने, बाबु नानी हो यो बुर्जुवा शिक्षाले केहि हुन्न । किताबका झोला बोकेकालाई बिच बाटैमा रोकेर भने, साथी हो, यो प्रतिक्रियावादी शिक्षाले न जागिर दिन्छ, न स्ववलम्भी बनाउँछ । त्यसैले पहिले यो प्रतिक्रियावादी शासन हुत्याउनु पर्छ । हाम्रो शासन आएपछि रोजगार, शिक्षा, स्वास्थ्य नागरिक अधिकार हुन्छ । जनवादी शिक्षा हुन्छ । हामा पुस्ताले दुख पाए पाए, हाम्ले लड्यौं भने हाम्रा सन्ततीले उज्वल भविष्य पाउँछन् । सोझा गाउँलेले पत्याए । निमुखा किसानहरुले पत्याए । जोसिला युवायुवतीहरुले नाइनास्ती गरेनन् । तिनले झोल्का मिल्काए । कलमका टुप्पा भाँचे । र लागे कोहि जनसेनामा । कोहि सुराकी बने । कोहि हुलाकी बनेर कामरेडका गोप्य चिठि बोक्दै ओरालो उकालो गरे । कसैले कामरेड आउने बाटामा सुरक्षा दिए । कोहि कामरेडको छाक टार्न मकैको पिठो खोज्न दगुरे । कोहि सिस्नो खोज्दै जंगल पसे ।

सिस्ने हिमालको सिरेटोमुनी गोदिने किसान र थवाङका डाँडामा खाली पैताला पट पट चिर्‍याउँदै नांगो ढाडमा अर्काको भारी बोक्नेले त्यति खेर नसोधेका होइनन्, कामरेडहरुका छोरा छोरी कता छन् कुन्नी !’ कामरेडहरु चलाख न परे । तिनले बडो मिठो जवाफ दिए ‘आमा, बुवा, साथी, कामरेड, भाउजु, ए बाबु, ए आमै, हाम्रा छोराछोरीपनि क्रान्तिमै छन्’। त्यत्रो जनयुद्द हाँकेको, संसार हल्लाएको, आकाश थर्काएको, ‘प्रतिक्रियावादी सत्ताका’ मुटुमा छिया पार्न सफल पार्टीका बडे बडे नेताले सिस्नाको झोलसित बञ्चराले हानेर फुटाउनुपर्ने जस्तो कोदा र मकैका ढिँडोका डल्ला क्वाप्लाकक्वाप्लाक सँगै बसेर निलेपछि के नपत्याउने ? पत्याए ।

जनयुद्द सकियो, देखियो । ए, मजदूर संगठनका नेता जमरकट्टेका चिचिला त बिदेशीले चलाएको महँगो नीजि स्कूलमा पो पढ्ने रहेछन् । डा बाबुराम भट्टराइकी छोरी मानुषी यामी भट्टराइ त सौखिन पत्रकारिता पो गर्ने रहिछिन् । मोहन बैध्य कामरेड की छोरी त त्रिभुवन विश्व बिध्यालयमा पो उच्च शिक्षा पढ्ने रहिछिन् । पार्टीका मुली कामरेड प्रचण्डका छोरी ज्वाइँ त आनन्दले देहरादुनमा पो बस्ने रहेछन् । उतै आङ्ल भाषामा पढाइ हुने स्कूलमा पो पढ्ने रहेछन् । हुँदा हुँदा तिनै गाउँलेले सुने, अब कामरेडका छोराले त आधा करोड भन्दा बढि पैसो खर्च हुने सगरमाथा हिमाल चढ्ने रे । संसारलाई चकित पार्ने रे अग्ला कामरेडका पुत्रले अग्लै हिमाल नाघेर ।

हाम्रो सरकार आएपछि त सबथोक हुन्छ भन्थे । सरकार दुई पटक बन्यो । नपुग्दो हो भने कामरेडहरुलाई गाडी चढ्न कसरि पुग्यो ? कामरेडका छोराछोरीजति नीजि स्कूलमा पढ्ने मेसो कसरि मिल्यो ? अध्यक्ष कामरेडका कुखुरा पालेर बसेका भाइ भतिजा सम्मलाई कसरि पद जुर्‍यो ?

बिकट पहाडी गाउँठाउँमा कतै स्कूल छैनन् । भएकापनि कामरेडहरुको सेल्टर भन्दै तपाइहरुले प्रतिक्रियावादी भन्ने गरेका सुरक्षा फौजहरुले भत्काएका छन् । कतै सुरक्षा कवज लिँदा कामरेडहरुकै बन्दुकका गोली र बारुदले जलेका छन् । कतिपय ठाउँमा भएका शिक्षहरुपनि स्कूल जाँदैनन् । स्कूलमा बस्ने बेन्च छैन । शिक्षकले घोट्ने डस्टर छैन । फि मिनाहा भनेपनि किताब र कापी किन्ने जोहो छैन । घरको बाठो टाठो भन्नेलाई हिजो कामरेडले बिन्ति गरेर पार्टीमा होमिदिएकाले सिकाउने मान्छेको अभाव छ । यसको ब्यवस्थापन कसले गर्ने ?

हिमाल शर्माले बिदेश गएका छोरालाई फर्काएर त्याग गरे । जनवादी शिक्षा दिन्छौं भन्दै नीति बनाउने उनी थिए कि बडे बडे कामरेड ? त्यसको थालनी हिमाल शर्माबाट हुनुपर्ने हो कि कामरेडहरुबाट ? कामरेडहरुले आफ्ना छोराछोरी ढुक्कैले नीजि स्कूलमा पढाएपछि गाउँमा कसका छोरा छोरी पढ्ने ? बाटो देखाउनेहरुले आफ्ना छोरा छोरी गाउँमा लगेर स्थानिय जनताको शिक्षामा लगाए पो बल्ल त्यहाँका स्कूल हेर्न लायकका बन्लान । नीति निर्माण तहमा बस्नेले आफ्ना छोरा छोरी बिकट गाउँमा लगेर पढाइदिए पो बल्ल भत्केका स्कूल निर्माण गर्ने चासो लाग्छ । डढेका भवन ठड्याउन हुटहुटी हुन्छ ।

कामरेडहरुका भनाइमा ३५ हजार जनसेना बने । अधिकांश ति गाउँलेकै छोराछोरी हुन् । भलै ति मध्ये कति गाउँ फर्क भए । तैपनि ति ३५ हजार मध्ये लौ पाँचै हजार पढे लेखेका उपल्लो तहका होलान् । बाँकि ३० हजारले त किताब कापी फालेरै जनयुद्दमा बन्दुक समाउन गएका हुन् नी । तिनले नपढेर हुन्छ भने कामरेडका पढे लेखेका छोरा छोरी गाउँमा बसेर पढाए हुन्न ?

बिकट गाउँमा अहिले पनि अक्षर फुटाल्न नसक्नेको संख्या बढि छ । स्थानिय खेती कसरि गर्ने हो तिनलाई मेसो छैन । उन्नत जातको भैसीं कसरि पाल्दा सफल भइन्छ तिनले सिक्न पाएका छैनन् । सामान्य झाडा पखाला लाग्दा नुन पानी बनाएर खाए ज्यान जखम हुन्न भन्ने नजान्दा तिनले दुख पाएका छन् । प्रौढ शिक्षा भन्दै बिदेशी स्वार्थका झोला बोकेर बिदेशीहरु गाउँ पसेका छन् । के ३० हजारलाई कलम र कापी हुत्याएर अनपढ बनाउने कामरेडले आफ्ना छोरा छोरी गाउँका जनता पढाउन पठाए हुन्न ? हिमाल चढ्न ब्यायाममा दगुर्न भन्दा अध्यक्ष कामरेड पुत्रले थवाङका जनतालाई केहि सिकाएर बसे हुन्न ? डा सापले आफ्नी छोरी गोरखामा लगेर स्थानिय जनतालाई पत्रकारिता सिकाउन लगाए हुन्न ?

सत्तामा नपुग्दा हिजो जनता जगाउन भन्दै कामरेडहरु डोकोमा एफएम चलाउँदै हिँड्थे । जनताका छोरा छोरीले आफ्नै दुख र बेदनाका कथा सुन्थे । माओवादी पत्रकारलाई कम्तिमा सुनाउँथे । तिनै दुखियाहरुले थुप्रै माओवादी पत्रकार बनाए । जनताका कथा बुन्न सिकाए । डाँडा र पाखाका सुसेलीहरु सिलाएर कामरेडका पत्रीकामा छाप्न सक्ने बनाए । दुखियाहरुको सपना थियो, यस्तरी लुक्दै र भाग्दै त डोकोमा रेडियो चलाउँदै हाम्रो सेवा गरेका छन् । हामी हाँस्दा हाँसेका छन् । रुँदा सँगै रोएका छन् । भोकै परे सँगै टाट्नामा पेट बाँधेर लडेका छन् । यीनले सरकार बनाए भने त हाम्रा गाउँ गाउँमा झन रेडियोको स्टेशननै बनाउलान् । हाम्ले बुझ्ने गरि अझ पत्रीका शुरु गर्लान् । आफूसँगै हाम्रा छोरा छोरीलाई पनि सिकाउलान् । चनाखो बनाउलान् ।

काठमाडौंमा कामरेडका नयाँ दिशा भन्ने दैनिक छ । त्यतिले नपुगेर जनादेश साप्तहिक छ । महिमा साप्ताहिक र मिर्मिरे एफ एमले राजधानीमै अड्डा जमाएका छन् । दिशाबोध मासिकले राजधानीबाटै कामरेडका अन्तर्वार्ता र लेख रचना सोरेर छाप्छ । त्यसबाहेक पनि अहिले त कामरेडका छेउकुना उभिने सम्मले बिभिन्न नामका पत्रीका चलाएका छन् । के यस्तो भिडमा डाक्टर सापकी छोरीले फेरी झिल्को निकाल्ने भन्दै राजधानीमै अड्डा जमाउनु जरुरी छ ?

पत्रकारितालाई आवाजबिहिनहरुको आवाज भन्छन् के रे कामरेडहरुले । के राजधानी आवाजबिहिन छ ? राजधानीमा बसेर पत्रकारिता गर्ने कामरेडका बालबचेरा गाउँमा गएर पत्रकारिता गरिदिए कति आवाजबिहिनहरुका आवाज समेटिन्थ्यो ? कति स्थानिय जनताका छोरा छोरीले सिक्न पाउँथे ? जनताका छोरा छोरी कति चनाखा बन्थे ? आफूलाइ उचाल्नु पर्दा डोकोमा एफ एफ बजाउँदै हिँड्ने कामरेडले त्यसलाई बिस्थापित गरेपछि के अर्को बाटो देखाउनु पर्दैन ?

त्यसरि नेताले छोरा छोरी गाउँ पठाए पो छोरा छोरीको सम्झनाले यस्सो कामरेडहरु गाउँ पुग्दा गाउँका कष्ट देखिन्थ्यो । दूर्गमको पीडा छमिन्थ्यो । महिलाका बेदना हेरिन्थ्यो । दुखियाका कहानी छामिन्थ्यो । गाउँऔँलेसित निकत हुने मेसो मिल्थ्यो । कम्तिमा ‘हाम्ले गर्न खोज्या हो, अरु पार्टीले गर्न दिएनन्’ भन्दै सुनाउन त पाइन्थ्यो । त्यसैले कामरेडहरुको साख गिराउँथेन बरु एक पित्को भएपनि बढाउँदो हो ।

जनताको सम्पत्तीमा सरकारी सुविधा लिएर उच्च शिक्षा हाँसिल गरेकाले दूर्गम जान्न भन्न पाइन्न भने गाउंलेसित दुख सुख बाँडम्ला, अनुहारमा खुशि ल्याम्ला, रमाइलो छरम्ला, कि सँगै मरम्ला बाँचे सँगै बाँचम्ला भनेर बाचा खानेले पनि त सत्ता मा पुगेपछि ‘इस् खाओ’ भन्न पाइन्न होला नी हैन कामरेड ?

हुन त कामरेडले हाम्ले भन्दा पार्टीको पैसोमा, जनताले उठाएको चन्दामा, राज्यको पैसोमा, बिदेशीका डलरमा धेरै देश बिदेश चहार्नु भएको छ । कामरेडलाई यो संसारको चित्र छर्लंगै छ । त्यसैले संझाउन मात्रै खोजेको, कामरेड, लौ न स्विजरल्याण्ड जस्तै त त्यसै बन्दैन नी नेपाल । आजको स्विजरल्याण्ड बन्न कामरेडहरु त्यहाँका पूर्खाले निक्कै पापड बेलेका थिए । जनतालाई नेतासमान सुविधा दिएका थिए । स्विजरल्याण्डमा अहिलेपनि जनताको छोरो भोकै पर्‍यो भने ६० लाख खर्च गरेर त्यहाँको नेतो हिमाल चढ्न जाँदैन । वालवालिकालाई किताब र कापी नपुग्दा नपुग्दै नेताको छोरो गाडी चढेर हिँड्दैन । कतै उपल्लो पद खाली भयो भने हत्त न पत्त नाता कुटुम्ब खोज्यै ल्याएर बसाउँदैन । लौ न कामरेड स्विजरल्याण्डका पहाडमा बाख्राको दुधबाट चिज बनाएको देखेर, त्यहाँका डाँडा पाखा रेल दगुरेको नियालेर, चिल्ला गाडी र सफा सडक देखेर मात्रै नेपाल स्विजरल्याण्ड बन्छ र ? नेपाललाई स्विजरल्याण्ड जस्तै बनाउन त स्विस नेता हरुले जस्तै काम गर्नु पर्दैन र ? त्यसको मुख्य जिम्मेवारी त मुली कै होइन र ?

Nepalplus.com

No comments:

Post a Comment

^ Scroll to Top