Thursday, July 14, 2011

भन्दा सुल्टो बुझ्दा उल्टो

रामजी बलामी

भन्दा छ गन्दा सात के हो ? पत्ता लाउने भए यी सार्वजनिक सूचनातिर हेर्नुस्— यो खुला दिसामुक्त क्षेत्र हो । यो प्लास्टिकमुक्त क्षेत्र हो । यहाँ फोहोर फाल्न मनाही छ । यहाँ फोहोर फाल्ने कुकुर । भ्रष्टाचारीलाई कीरा परोस् । तीव्र गति जीवन क्षति, धूमपान निषेधित क्षेत्र, जथाभावी बाटो नकाटौं आदि–इत्यादि । यी कहिल्यै पालना हुन्छन् त ? तपाईंले नै कति पालना गर्नुभएको छ ? भन्नुस् त ।

अहिले गाउँघरलाई खुला दिसामुक्त गाउँ घोषणा गर्ने अभियान फेसनकै रूपमा फस्टाएको छ । भर्खरै प्लास्टिकको प्रयोग कम गर्ने भनेर नानाथरी भाषण पनि गरियो । सिंहदरबारलाई नै प्लास्टिकमुक्त क्षेत्रसमेत घोषणा गरियो । मुखमै घाउ लागेपछि पेट भर्न त सकसै पर्छ, तर यो नियमले सिंहदरबारसँग मेल नखाँदो रै’छ ।

धेरै तौल भएको प्लास्टिक प्रयोग नगरेर कम तौललाई प्राथमिकता दिंदा प्लास्टिक उद्योगलाई झन् फाइदा पुगेको छ । कम तौल भन्नासाथ गुणस्तरहीन, अझ भनौं घ्यू ताछे पनि फाट्ने । यस्तो प्लास्टिक भएपछि एकातिर कम्पनीमा लागत कम पर्ने, अर्कातिर ग्राहकले धेरै किन्नुपर्ने भएकाले बढी उत्पादन हुने । हेर्नु त, दुवै हातमा लड्डु ।

अब कुरा अलिकति फोहोरतिर मोडांै । फोहोरबाट मोहोर बनाउने नारा त सबैले सुनेकै हो, तर मोहोर पाउने फोहोर पनि घरमा नराखी जताततै फालिन्छ, त्यसैले पो बर्बाद । सायद तपाईंले पनि याद गरेको हुनुपर्छ । जहाँ फोहोर फाल्न मनाही छ, फोहोर फाल्ने कुकुर हो भनेर लेखेको हुन्छ त्यहीँनेर फोहोरको थुप्रो हुन्छ ।

थापाथली पुलमा ठूलो अक्षरमा लेखिएको छ— भ्रष्टाचारीलाई कीरा परोस् । धमाधम भ्रष्टाचारीहरू पक्रिरहँदा भ्रष्टाचारीलाई कीरा होइन, हीराचाहिँ परेजस्तो लाग्यो । करोडौंको भ्रष्टाचार गर्नेहरू जतिसुकै मरमसला खाएर बसे नि अदालत धाउनुपर्दा चिल्ला कारमा चाहिँ कीरा प¥या हो कि जस्तो लागो ।

अब हेरौं ट्राफिक नियमतर्फ । आफ्नै संस्थामार्फत तीव्र गति, जीवन क्षति भनेर गाउँमा एउटा बोर्ड राखेको मात्रै थिएँ, कहिल्यै दुर्घटना नहुने ठाउँमा बोर्ड राखेको दुई घण्टा पनि बित्न नपाउँदै बस पल्ट्यो । आकाशे पुलबाट बाटो काटौं भन्दा नटेर्नेलाई ट्राफिकले चकलेट र फलपूmल बाँड्या थे एकताका । त्यो बेला चकलेट खानैका लागि झनै बीचबाट बाटो काट्नेको लाइन लाग्या थ्यो रे ! पारिपट्टिको पसले दाइले भनेको ।

अब ध्यान क्यासिनोतिर लैजाऊँ । नेपाली प्रवेश निषेध भन्या छ, नेपाली नछिरे व्यापारै चौपट हुन्छ रे । कार उपहार प¥यो भनेर लिन जाँदा खेलौना कार दिएर पठाउँछन् । तेल छैन भनेर बोर्ड झुन्ड्याउनु भनेको भित्र लुकाइराख्या छ भनेको रे ! एउटा साथीले भनेको । तेलभित्रको झेलको राजनीतिका बारेमा हामी सबै विज्ञ नै छौं । किनकि तेलको लाइनमा बसेर कैयांै पटक फेल खाएका छांै ।

साना–साना नानीबाबुलाई जे गर्नु हुन्न भन्यो, त्यही गर्छ । अब त नानीबाबु मात्रै होइन, पाको उमेरकाहरूले पनि उल्टै कुरा बुझ्न थाल्या छन् र पो मा-यो त ।
.karobardaily

No comments:

Post a Comment

^ Scroll to Top