Monday, September 12, 2011

किरा र लेदोयुक्त टुबोर्ग बियर खाँदा दुई आइसियुमा



काठमाडौं, २५ भदौ

किरा र लेदो मिसिएको टुबोर्ग बियर पिउँदा दुईजना सिकिस्त भएका छन् । दूषित बियर उत्पादन गर्ने कम्पनीका कर्मचारीसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो नयाँबसपार्क मित्रनगरस्थित मदिरा पसलमा बियर पिएपछि बाग्लुङका देवीलाल गौचन र चन्द्रसिंह थापामगर बेहोस भएका थिए । आइतबार बिहान मात्र उनीहरूको होस आएको थियो । सुन्धारास्थित लाइफ केयर अस्पतालको आइसियुमा उनीहरूको उपचार भइरहेको छ ।

प्रहरीले टुबोर्ग बियर उत्पादक गोर्खा ब्र्रुअरीको मार्केटिङमा काम गर्ने सन्दीप सुवेदी, डिलर ओमश्याम श्रेष्ठ र मदिरा बिक्रेता पानबहादुर अदैमगरलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) जगदीश पोखरेलका अनुसार घाइतेहरूले पिएको बियरको बोतलमा निलो लेदो र किरा भेटिएको छ । दूषित बियर पिएकाले गौचन र थापामगर बिरामी भएको उनले बताए । प्रहरीले पसलबाट दूषित बियरका बोतल बरामद गरी परीक्षणका लागि पठाउने तयारी गरेको छ ।

महाराजगन्ज वृत्तका डिएसपी पोखरेलका अनुसार उनीहरूले पाँच बोतल बियर लिएकोमा तीन बोतल भने पिइसकेका थिए । चौथो बोतल दूषित भेटिएको हो । घाइते गौचनले भने पहिलो बोतलदेखिकै बियर अमिलो र गन्हाएको बताए ।

'पहिलो बोतल बियरमै अमिलो स्वाद आएको थियो,' आइसियुमा उपचार गराइरहेका घाइते गौचनले नयाँ पत्रिकासँग भने, 'पछि अर्का बोतलमा हरियो लेदो र काला किरा रहेछन् ।' प्लास्टिकको गिलासमा राखेर थोरै मात्र पिएकाले बिरामी भइयो, बोतलमै पिएको भए मरिने रहेछ ।'

बियर पिएलगत्तै वान्ता भएको र पछि बेहोस नै भएको गौचनले बताए । घाइतेलाई सुरुमा विनायक अस्पतालमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएकाले शिक्षण अस्पताल रिफर गरिएको थियो । पछि उनीहरूलाई लाइफ केयर अस्पतालमा भर्ना गरिएको थियो । 'बिहान मात्र होस आयो,' गौचनले भने, 'यस्तो बियर उत्पादन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।'

पक्राउ परेकाविरुद्ध सोमबार मुद्दा चलाइने प्रहरीले जनाएको छ । गत वर्ष पनि धापासी क्षेत्रमा दूषित बियर फेला परेको थियो, तर दोषीलाई कारबाही भएको थिएन ।

नयाँ पत्रिका

No comments:

Post a Comment

^ Scroll to Top