Friday, April 15, 2011
एकै घरमा १८ परिवारका १ सय ७ जना रे ..
पचनाली गाविसमा १८ परिवारका १ सय ७ जना वर्षौंदेखि एउटै घरमा बस्दै आएका छन् ।
लामो समय उनीहरू स्थानीय मल्ल ठकुरीहरूकामा हलिया बसे । त्यसबेला उनीहरूले घरको आवश्यकतै ठानेनन् । 'परिवार बढ्दै गएपछि मात्रै घरको आवश्यकता महसुस भयो,' सोही घरमा बस्ने ईश्वर भुलले भने, 'हलिया मुक्ति त भयौं तर जमिन नभएकाले अन्यत्र बस्न पाएनौं ।'
आर्थिक अवस्था कमजोर रहेका यी दलित परिवार साँघुरा कोठाहरूमा छुट्टाछुट्टै खाना पकाउँछन् । उनीहरूको आर्थिक कारोबार पनि भिन्नभिन्नै छ । बाटो अभावमा झ्याल तथा गोठबाट समेत भित्र पस्छन् । चार परिवार गोठमा भित्ता हालेर बस्न बाध्य छन् ।
यी परिवार दुई बाजेका सन्तान हुन् । परिवारका ज्येष्ठ सदस्यलाई समेत घरमा कति परिवार र सदस्य बस्छन् भन्ने थाहा छैन । यो संवाददातालाई घरमा बस्ने महिला/पुरुषको संख्या छुट्टयाउन झन्डै दुई घन्टा लागेको थियो । 'घरका सबै जम्मा भयौं भने आँगनमा खुट्टा टेक्ने ठाउँसमेत हुन्न,' भुलले भने, 'दिउँसो काममा अन्यत्रै लाग्दा साँझ/बिहानमात्र सबैको भेट हुन्छ ।' घरमा ५३ महिला र ५४ पुरुष छन् । तीमध्ये अधिकांश बालबालिका छन् । उनीहरूको अवस्थाबारे गाविस कार्यालय भने अझै बेखबर छ । 'अन्यत्र कुरा सुनेको छु,' गाविस सचिव खगेन्द्र भट्टले भने, '३/४ परिवारसम्म हुन सक्छन्, १८ परिवार छन् भन्ने कुरा तपाईंबाट सुनेँ ।' आफूहरूको बासका लागि सानै भए पनि घरको व्यवस्था गरिदिन उनीहरूले आग्रह गरे । एउटै घरमा बस्दा अनेक समस्या भोग्नुपरेको उनीहरूले सुनाए । 'छोराछोरी, श्रीमती सबैले यसै कोठामा सुत्नुपर्छ,' साँघुरो कोठा देखाउँदै भुलले भने, 'यसैमा खाना पकाउनुदेखि अन्नपानी, लुगाफाटोसमेत राख्नुपर्छ ।'
नेपालका लागि खानेपानी नेवाले प्रत्येक परिवारलाई
चर्पी बनाउने अभियान थाले पनि स्थान अभावले त्यसमा समस्या आयो । 'आफैं बस्न ठाउँ नपाएका बेला चर्पी कहाँ बनाउने ?' घरका सदस्यहरू प्रश्न गर्छन् । पछि छेउको भिरालो डाँडामा नेवाले सबै परिवारका लागि अस्थायी चर्पी बनाएको छ । केही परिवारले स्थानीय बासिन्दाको जमिन अधियाँ कमाएका छन् । केही कमाउन भारत जाने गरेका छन् ।
स्थानीय बासिन्दा एवं राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष वेणीमाधव जोशीले उनीहरूको अवस्था दुःखदायी भएको बताए । 'वर्षौंदेखि हलिया प्रथाको थिचोमिचोमा परेका उनीहरू अहिलेसम्म सजाय भोग्दै छन्,' उनले भने । उनीहरूले गाउँ छेउको सामुदायिक वनमा
बस्न तयारी गरेका थिए तर त्यसमा गाउँलेले विरोध गरे । 'हामीलाई हटाएर अरू परिवार बस्ने तयारीमा छन्,' तीमध्येका एकले भने, 'अरूले रूख काट्न पाउने, जमिन भोगचलन गर्न पाउने, हामीले बस्न किन नपाउने ?'
Labels:
यस्तो पनि हुन्छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment